२ माघ, काठमाडौं।
न्यून मुद्दाका कारण बुधबार विशेष अदालतले पेसी नै तोकेको छैन । विशेषमा ५० भन्दा पनि कम मुद्दा किनारा लाग्न बाँकी रहेकाले पेसी चढाउने मुद्दा नै नभएको विशेषले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नै एउटा मुद्दा दर्ता गराएपछि हाल फर्छ्योट हुन बाँकी मुद्दाको संख्या ४९ पुगेको छ । ‘धेरै कम मुद्दा भएकाले हामीले तयार गर्ने साप्ताहिक पेसीमा आजलाई राख्ने मुद्दा नपुगेको हो । मुद्दा नपुग भएर आज पेसी नचढाएका हौँ,’ विशेषका सूचना अधिकारी तथा शाखा अधिकृत यज्ञराज रेग्मीले भने ।
सूचना अधिकारी रेग्मीका अनुसार नयाँ दर्ता भएका कतिपय मुद्दामा अंग नपुगेकाले पेसी नचढाइएको हो । ‘अहिले हामीसँग भएका ४९ वटामा ६ महिना नाघेका मुद्दा १८ वटा छन् । अरु सबै नयाँ मुद्दा हुन्,,’ उनले भने ।
रेग्मीका अनुसार मुद्दा हेर्नुपर्ने नभएपछि बुधबार विशेषका न्यायाधीशहरु फैसला लेखनमा लागेका छन् । डेढ सय हाराहारी मुद्दाका फैसला तयार गर्न बाँकी रहेको विशेषले जनाएको छ । कम मुद्दा भएकाले न्यायाधीशहरु फैसला लेखनमा सक्रिय रहेको र छिट्टै सबै मुद्दाको पूर्णपाठ सकिने अधिकृत रेग्मीको भनाइ छ ।
विशेषका अध्यक्षमा टेकनारायण कुँवर छन् भने खुसीप्रसाद थारु, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा सदस्यका रुपमा छन् । विशेष अदालत भ्रष्टाचार, सम्पत्ति शुद्धिकरणजस्ता केही मुद्दा हेर्नका लागि संविधानबमोजिम गठित विशिष्टिकृत अदालत हो ।
गत १२ पुषमा न्याय परिषद्को बैठकले थारुको सरुवा उच्च अदालत वीरगञ्ज इजलास गरेको थियो । उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई ल्याइए पनि उनी विशेषमा हाजिर भइसकेका छैनन् ।
मिश्रमाथि प्रतिकूल बकपत्रको मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गरेको भन्दै एक मुद्दा दर्ता गरएको छ । बुधबार चन्दन कुमार मिश्रउपर उक्त अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
मिश्रले साइबर ब्युरो भोटाहिटीका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीमाथिको घूस रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको अख्तियारको अभियोगपत्रमा छ । यसै वर्ष २८ भदौमा सुवेदीमाथि मुद्दा दायर भएकोमा मिश्रले अदालतमा बयान फेरेका थिए ।
प्रहरी निरीक्षक सुवेदीले मिश्रको भाइमाथि लागेको साइबर अपराधको मुद्दा मिलाइदिने भनी ९९ हजार रुपैयाँ घूस लिएको अभियोग अख्तियारले लगाएको थियो । तर मिश्रले अदालतमा बयान फेरेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएको हो ।