१ माघ, काठमाडौं।
सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको केही क्षेत्रमा अन्धाधुन्ध गोली चलेको छ । जसमा सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
उक्त क्षेत्रमा भएको गोलाबारीमा हालसम्म एक सय २० जनाको ज्यान गएको स्थानीय स्वयंसेवक उद्धारकर्ताहरुले बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको उक्त घटनापछि उपचार गर्ने स्वास्थ्य संस्था र चिकित्सकको अभाव भएको देखिएको छ ।
सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बिचको लडाइ बढेको छ। सहयोगमा सामेल निकायहरुका अनुसार उक्त युद्धमा दसौँ हजार मानिसको हालसम्म मृत्यु भइसकेको छ ।
युद्धजस्तो यस परिस्थितिले देशलाई अनिकालको सँघारमा पारेको भन्दै सहयोगी निकायहरुले चिन्ता व्यक्त गरेका छन् । सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोली चलाएको आरोप लगाइएको छ ।
ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रणमा लिएको छ । नाइल नदीका दुवैतर्फका बासिन्दाहरूले नदी तरेर समेत गोली प्रहार भएको बताएका छन् । (एजेन्सी)