२२ पुष, काठमाडौं।
भारतको छत्तीसगढ राज्यमा भ्रष्टाचारको रिपोर्टिङ गरेका एक पत्रकारको हत्या भएको छ । सडक निर्माणमा भएको भ्रष्टाचारको रिपोर्टिङ गरेका मुकेश चन्द्रकारको शव सेप्टिक ट्याङ्किमा भेटिएको हो ।
३२ वर्षीय चन्द्राकारको शरीरमा गहिरो चोटका चिह्नहरुसमेत भेटिएका छन् । उनी नयाँ वर्षको दिन बेपत्ता भएपछि उनको परिवारले प्रहरीमा जानकारी गराएका थिए । जसपछि उनको मोबाइल ट्र्याक गर्दै प्रहरी उनको शवसम्म पुगेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार विजापुर शहर क्षेत्रको सडक निर्माण ठेकेदारको कम्पाउन्डमा उनको शव भेटिएको हो । यस घटनामा अनुसन्धानका लागि चन्द्रकारका दुई आफन्तसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार चन्द्रकारको हत्या आरोपमा पक्राउ परेकामध्ये एक जना उनको भतिजा छन् । मुख्य सशंकितमध्ये एक उनको शव भेटिएको कम्पाउन्ड मालिक सुरेश चन्द्रकार पनि हुन् । उनी पनि मृतक चन्द्रकारका नातेदार पर्छन्, यद्यपि उनी फरार छन् ।
विजापुर जिल्लाको प्रहरीले २ ज्यानुअरीमा कम्पाउन्डको प्रारम्भिक भ्रमण गर्दा केही फेला नपारे पनि अर्को दिनसमेत खोजी कार्यलाई जारी राखेको थियो । जसपछि नजिकैको नयाँ सेप्टिक ट्याङ्कमा पत्रकार चन्द्रकारको शव भेटिएको समाचारहरुमा उल्लेख छ ।
स्वतन्त्र पत्रकार चन्द्राकारले सार्वजनिक निर्माण परियोजनाहरूमा भ्रष्टाचार भइरहेको भन्दै व्यापक रिपोर्टिङ गर्ने गरेका थिए । उनका ती रिपोर्ट उनले चलाउने गरेको युट्युबमा राख्थे । उनले लोकप्रिय युट्युब च्यानल बस्तर जंक्शन पनि चलाएका थिए ।
उनको मृत्यु पछि, प्रेस काउन्सिल अफ इन्डियाले राज्य सरकारबाट केसको तथ्यमा रिपोर्ट माग गरेको छ भने छत्तीसगढका मुख्यमन्त्रीले पत्रकार चन्द्रकारको मृत्युलाई हृदयविदारक भनेका छन् । मुख्यमन्त्रीले एक्समा गरेको पोस्टअनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गरिएको छ ।
भारतमा पत्रकार सुरक्षाको अवस्था पछिल्लो समय चिन्ताजनक देखिएको छ । यस अघि मे २०२२ मा, अवैध बालुवा उत्खननमा संलग्न व्यक्तिहरूको बारेमा निरन्तर रिपोर्टिङ गरेका एक स्वतन्त्र पत्रकार सुभाष कुमार महतोलाई बिहारमा उनको घर बाहिर चार अज्ञात व्यक्तिहरूले टाउकोमा गोली प्रहार गरी हत्या गरेका थिए । (एजेन्सी)