१९ मंसिर, काठमाडाैं।
पछिल्लो पटक ‘ट्वेल्थ फेल’ अर्थात् १२ फेलबाट चर्चामा आएका बलिउड कलाकार विक्रान्त मेसीको रिटायरमेन्टको हल्ला चलेको छ । उनकाे फिल्म ‘द साबरमति रिपोर्ट’ फिल्मपछि यस्तो अभिव्यक्ति आउँदा सबै आश्चर्यचकित बनेका थिए ।
गत सोमबार मात्र उनको साबरमति रिपोर्टलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुसँग हेरेका थिए । फिल्मपछि मेस्सीको यस्तो बयानले उनका फ्यानलाई निराश बनाएको थियो ।
उनले एक सोसल मिडिया पोस्टमार्फत् आफूले आगामी वर्ष एक्टिङबाट रिटायरमेन्ट लिने बताएका थिए । जसपछि यसको कारणबारे सबैमा कौतुहलता थियो । उनले एक बयान दिँदै यो कुरा स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, उनले सधैँका लागि रिटायरमेन्ट लिन थालेका होइनन् । ‘एनडीटीवी’ को एक रिपोर्टअनुसार उनले भनेका छन्, ‘एक्टिङ एउटा मात्र यस्तो कुरा हो, जुन मलाई आउँछ । मसँग अहिले जे छ, मलाई यसले नै दिएको हो । तर ममाथि अहिले फिजिकल र मानसिक असर परेको छ । म केही समय बिदा चाहन्छु ।’
उनले यो समयको सदुपयोग गर्ने र आफूलाई अझै निखार्न प्रयोग गर्ने बताए । एक्टिङ नै छाड्न लागेको भनी आफ्नो पोस्टको गलत आसय लगाइएको मेस्सीको भनाइ थियो ।
‘म यस समय निरस अनुभूत गर्दैछु । मैले एक्टिङ छाड्न लागेको वा सन्यास लिन लागेको होइन,’ उनले स्पष्ट पारे, ‘म आफ्नो परिवार र स्वास्थ्यमाथि ध्यान दिनका लागि केही समय टाढा बस्न चाहेको हुँ । सहि समयमा म फेरि यहिँ फर्किनेछु ।
कतियपले यसलाई पब्लिसिटि स्टन्ट भनी टिप्पणी गरेका छन् । मेस्सीका केही फ्यानले भने कुरा स्पष्ट पारेकोमा उनलाई धन्यवाद दिएका छन् ।